`

पूर्वप्रधानमन्त्री नेपालको पक्षमा बहस गर्न नाम टिपाउने वकिलको संख्या १२०

Nepal One HD ११ असार २०८२ १४:२८
बिशेष

काठमाडौं । पतञ्जलिको जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न नाम टिपाउने कानुन व्यवसायीको संख्या १२० पुगेको छ ।

बुधबार विशेष अदालतमा हाजिर भएका नेपालको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीसहित १२० जनाले नाम टिपाएका हुन् । नाम टिपाउनेको संख्या अझै थपिँदै छ । तर, समय अभावका कारण थोरै अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ । बहसपछि थुनछेक आदेश हुनेछ ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।

बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहितविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रे मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *