पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, थुनछेक बहस हुँदै


काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले हालेको मुद्दामा विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ ।
बुधबार न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइमा नेपालको बयान सम्पन्न भएको हो।
बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ । तर आजै बहस टुंग्याउने तयारी अनुसार सीमित अधिवक्ताले मात्रै बहस गर्ने बताइएको छ।
शम्भु थापा, गोविन्द बन्दी, टीकाराम भट्टराईसहितका वरिष्ठ अधिवक्ताले सुरुवाती बहस गर्ने भएका छन् । नेपाल पक्षका अधिवक्ता नारायण देवकोटाका अनुसार करिब १५० अधिवक्ताले वकालतनामा लिएका छन् ।
उता, अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहसको अगुवाइ गर्ने भएका छन् । पन्तलाई आयोगले निजी वकिलका रूपमा नियुक्त गरेको हो।
नेपालमाथि जेठ २२ गते पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा प्रदान गरिएको जग्गा निजी स्वामित्वमा बिक्री गर्न अनुमति दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। थुनछेक बहस आजै सकिने सम्भावना छ ।