संसद अकारण अवरुद्ध गर्ने परिपाटी अन्त्य गर्नुपर्छः प्रवक्ता महत


गलकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् ।
वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए ।
नेपाल प्रेस युनियन बागलुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महतले संसद अकारण अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए। बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उनको भनाइ छ ।
लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उनले बताए । आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पुर्याउने उनले उल्लेख गरे ।
उनले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन सम्भव नदेखिएको बताए । भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने उनको जिकिर छ ।