`

सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन : प्रवक्ता डा महत

Nepal One HD ३ असार २०८२ २२:०५
प्रमुख खबर

म्याग्दी, ३ असारः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रवक्ता महतले सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया तत्काल थालनी हुनुपर्नेमा जोड दिनुभयो । एक वर्षअघि नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्दा दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

“सहमति बमोजिम काम नहुँदा कांग्रेस र एमाले सत्ताका लागि एक ठाउँमा आए भन्ने सन्देश जनतामा गएको छ,” उहाँले भन्नुभयो “कांग्रेस र एमालेको सरकार गठन गर्नुको औचित्य पुष्टि गर्नका लागि पनि सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिलाइ गर्नुहुदैन् ।” सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा केही सुधार गर्ने कोसिस भए पनि अझै ठोस् र स्पष्ट रूपमा आउन नसकेको प्रवक्ता डा महतको भनाइ थियो ।

पार्टीको नीति र सिद्धान्त उत्कृष्ट भए पनि व्यक्तिवादी चरित्र हाबी हुँदा केन्द्रदेखि टोलसम्म सङ्गठन कमजोर बनेको उहाँले बताउनुभयो । क्रियाशील सदस्यतालगायतका काम बाँकी रहेकाले कांग्रेसको महाधिवेशन आउने मङ्सिरमा सम्भव नहुने नेता डा महतले बताउनुभयो । कर्मचारीलाई मुद्दा लाग्दैमा भिजिट भिसा मुद्दामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आवश्यक नरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *