समाचार

माओवादीले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन संसदमा रहेका दलहरूलाई अपील गर्ने

NepalOne
२६ असार २०८१ १६:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले छलको राजनीति गरेको आरोप लगाएका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिमा हस्ताक्षर गरिसकेपछि ओलीले आफूलाई छक्याएको बताएका हुन् ।

प्रधानमन्त्रीले बालुवाटारमा भएको पछिल्लो बैठकमा पनि ओलीले आफूसँग झुटो बोलेको बताए। प्रधानमन्त्रीको भनाई उदृत गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘ओलीजीसँग पछिल्लो पटक छलफल हुँदा कांग्रेसबीच त्यस्तो केही भएको छैन, बरु अब तीन दलका नेता बस्नुपर्छ भनेर भन्नुभएको थियो। तर, देउवाजीसँग सोधीखोजी गर्दा उहाँले ’सम्झौता भइसक्यो, सरी’ भनेपछि थाहापायौं । यो हदसम्म ओलीले छलढाँट गर्नुभएको छ ।’

संसदीय दलको बैठकले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन संसदमा रहेका दलहरूलाई अपील गर्ने निर्णय गरेको छ । प्रमुख सचेतक पाण्डेले संविधानको धारा ७६(२) पछि धारा ७६(३) आउने भएकाले सोही धाराअनुसार सरकार बन्नेमा आफूहरू स्पष्ट रहेको पनि बताए ।


प्रतिक्रिया