`

अब देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्छ: महामन्त्री थापा

Nepal One HD २३ असार २०८० १५:२१
राजनीति

काठमाडौं / कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै थापाले अब मुलुकमा भूतपूर्वलाई प्रधानमन्त्री बनाउन नहुने र देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताउनुभएको हो । अहिलेको आवश्यकता आफु वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्ने कुरामा रहेको उहाँले बताउनुभयो ।

उहाँले आफु फेरी पनि कांग्रेस संसदीय दलको नेता हुने प्रयत्नमा लाग्ने र नसके अरु कसैलाई समर्थन गर्ने जिकिर गर्नुभयो । थापाले अहिले मुलुकको अर्को प्रधानमन्त्री को बन्छ भन्ने सवैलाई जानकारी हुने भन्दै उहाँले एक पटक प्रधानमन्त्री भएको व्यक्तिलाई अर्को पटक प्रधानमन्त्री बन्नबाट सबै दलले रोक्न सक्नुपर्ने तर्क गर्नुभयो । त्यस्तै थापाले अहिले सबै दलहरुले मिसन ८४ लाई ध्यान दिएको अवस्थामा कांग्रेसले भने मिसन २०८० मा केन्द्रीत गर्नुपर्ने धारणा राख्नुभयो ।

देशका सवै स्थानमा कांग्रेस सहभागी सरकार बनेको अवस्थामा जनताको चाहना अनुसार काम गर्न सके मिसन ८४ मा ध्यान दिनै नपर्ने उहाँको भनाइ छ ।

थापाले पार्टीको केन्द्रीय समितिबाटै केन्द्र लगाएत प्रदेश सरकारमा रहेका कांग्रेसतर्फबाट मन्त्रीहरुलाई एकबर्षको काममा केन्द्रीय हुन निर्देशन दिनुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीको क्रियाशिल सदस्यता वितरणलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया