नवलपरासीमा याे वर्ष ७ सय घरधुरीसहित २८ सय बिगाहा खेतीयोग्य जमिन डुबान हुनसक्ने
नवलपरासी / बर्षेनी बाढीबाट प्रभावित हुँदै आएको पश्चिम् नवलपरासीका नागरिक पानी परेसँगै बिगतका वर्षहरूले उनीहरूलाई झस्काउने गरेको छ । जिल्लाको प्रतापपुर,सुस्ता र सरावल गाउँपालिकामा बढी डुबान हुने गरेको छ भने ठूलो पानी पर्दा परासी क्षेत्रसमेत जलमग्न हुने गरेको छ । अघिल्लो वर्षको बाढीले परासी क्षेत्र डुबान हुँदा यहाँका आम नागरिक र व्यवसायीहरूले करोडौँको क्षति बेहोर्नुपरेको थियो । स्थानीय पालिकाहरूले सीमित बजेट बिनियोजन गरि घोला नाला सरसफाइ गरेपनि निकास नहुँदा सधैँ डुबानको सास्ती बेहोर्नु पर्दा नागरिक त्रासमा बाच्नु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
बाढीबाट नवलपरासी जिल्लाका करिब ७ सय बढी घरधुरी प्रभावित हुने र करिब २८ सय बिगाहा भन्दा बढी खेतीयोग्य जमिन डुबानको जोखिममा पर्ने अनुमान गरिएको छ । हरेक वर्ष जसो जिल्लामा आएको बाढीका कारण जनधनको क्षति हुँदै आएको छ । यसवर्ष पनि बाढी आउन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी थालेको छ । बाढीबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले विपद् प्रतिकार्य योजना २०८० जारी गरेर पूर्वतयारी गरेको हो ।
बाढीका कारण सडक र पुलहरू आंशिक रुपमा क्षतिग्रस्त हुन सक्ने, विद्यालय तहको पठन पाठन केही दिनका लागि बन्द हुन सक्ने जनाइएको छ । बाढीका कारण २ प्रतिशत पानीका टयुबेल र इनारहरूमा पूणर्रुपमा क्षति पुग्ने अनुमान गरिएको छ । व्यक्तिगत तथा सामुदायिक गरी १६ प्रतिशत शौचालय क्षतिग्रस्त हुने, स्वास्थ्य केन्द्रहरू डुबानमा पर्दा कम्तीमा ३ दिन सेवा बन्द हुन सक्ने प्रतिकार्य योजनामा उल्लेख छ ।
स्थानीय खोलाहरूमा आएको बाढीका कारण सबैभन्दा बढी सरावल गाउँपालिकामा करिब ११ सय बिगाहा जमिनमा लगाइएको खेतीयोग्य जमिन डुबानमा पर्ने छन् । पाल्हीनन्दनमा ९३३ बिगाहा, बर्दघाट नगरपालिकामा ५ सय बिगाहा र रामग्राम नगरपालिकामा २ सय बिगाहा खेतीयोग्य जमिन डुबानमा पर्ने प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । अन्य पालिकाहरूमा पनि कटानको समस्या रहेकाले केही क्षति हुने अनुमान गरिएको छ ।
जिल्लाका सुस्ता, सरावल प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका केही वडाहरू बाढीको उच्च जोखिममा छन् । बर्दघाट र रामग्राम नगरपालिकाकाका केही वडाहरू पनि बाढीको उच्च जोखिममा छन् ।
बाढीबाट हुन सक्ने क्षति र उद्धार कार्यलाई प्रभावकारी बनाउन मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० तयार गरेर पूर्वतयारी गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।
स्थानीय खोलाहरू सँगै सीमा क्षेत्रमा भारतीय पक्षले अग्लो गरी बनाइएका सडकका कारण पनि डुबान हुँदै आएको छ । भारतीय पक्षले बनाएको संरचनालाई व्यवस्थित गराई पानीको निकास गराउन समकक्षीसँग सहकार्य गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । त्यसैगरी सुरक्षाकर्मीहरूलाई पाँच दिने पूर्व तयारीको अभ्यास दिइएको छ भने आवश्यक उद्धार सामाग्रीसहित सुरक्षाकर्मी र सम्बन्धित संस्थालाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । डुबानमा पर्न सक्ने घरपरिवारलाई उद्धार गरी व्यवस्थापन गर्नका लागि विभिन्न पालिकाहरूमा आश्रय स्थल ९सेल्टर०को व्यवस्था गरिएको छ । सरावल गाउँपालिकाले २ वटा र सुस्ता गाउँपालिकामा १ वटा आश्रय स्थल निर्माण गरिएको छ ।
मानवीय क्षति हुन नदिई उद्धार कार्यलाई व्यवस्थित गर्न पालिकाहरूमा रहेका विद्यालयहरूलाई आश्रय स्थल तोकिएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई सम्पर्क व्यक्ति तोकेर पूर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
