सरकार युवाहरुलाई श्रमसँग जोड्ने कार्य गरेको : मन्त्री मोदी
मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवाहरूलाई श्रमसँग जोड्न लागिपरेको बताउनुभएको छ ।
मातृभूमि फाउन्डेसन नेपालद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा ‘युवाका लागि हरित सीप : विश्व दिगो विकासतर्फ’ नाराका साथ आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी युवालाई विदेश पलायन हुनबाट रोक्ने दिशातर्फ सरकार अगाडि बढिरहेको धारणा राख्नुभयो ।
मन्त्री मोदीले सङ्घीयतामा महिला, छिडिएका क्षेत्रका जनता र अपाङ्गता भएका व्यक्तिले राज्यमा अधिकार प्राप्त गरेको विचार राख्नुभयो । उहाँले मुलुकमा समानुपातिक समावेशीका कारण वर्तमान अवस्थामा जनताका छोरा एवं छोरी राष्ट्रपति भएको उदाहरण प्रस्तुत गर्नुभयो ।
मन्त्री मोदीले वातावरण प्रदूषण न्यूनीकरणका लागि युवाले प्रविधिको प्रयोग गरी समाजलाई डोर्याउन आग्रहसमेत गर्नुभयो । उहाँले समाजप्रति उत्तरदायी भएर अगाडि बढ्न युवाहरूलाई आग्रह गर्दै हाम्रो संस्कृति, नैतिक शिक्षालाई अँगाल्न आवश्यक भएको बताउनुभयो ।
मन्त्री मोदीले युवाहरूले विराटनगरको विकास गर्न र यसलाई पहिलो सहरका रूपमा विकास गर्न नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । फाउन्डेसनका अध्यक्ष चाँदबाबु इराकी, भारतीय युवा प्रतिनिधि शुभ्रो राय, युवा अभियन्ता वसन्त अधिकारी, विवेक दाहाल र सत्तार अन्सारीले वातावरण चुनौती समाधानका लागि युवालाई समावेश गर्नुपर्ने तथा विदेश पलायत हुने युवालाई सरकार विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । सो अवसरमा मन्त्री मोदीले विभिन्न क्षेत्रका युवालाई सम्मान गर्नुभएको थियो ।
