`

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

Nepal One HD ४ भदौ २०८० २१:५१
समाचार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गुजरातमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रममा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारतको गुजरातमा आयोजना गरेको परम्परागत चिकित्सासम्बन्धी डब्लुएचओ विश्वव्यापी सिखर सम्मेलन, क्षयरोगसम्बन्धी सम्मेलन र ‘वान हेल्थ वान अर्थ’सम्बन्धी प्रदर्शनीमा सहभागी भई जनाइ मन्त्री बस्नेत आज नेपाल फर्किनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतका स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया नेतृत्वको टोली र नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको जानकारी दिनुभयो । वार्तामा नेपालका विभिन्न अस्पतालको स्तरोन्नति र आयुर्वेद चिकित्साको विकासका लागि भारतीय सरकारको सहयोगको प्रस्ताव गरिएको थियो । 

उहाँले विशेषत भारतका स्वास्थ्यमन्त्री डा मण्डावीयाको नेतृत्वको टोलीसँग द्विपक्षीय वार्तामा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रको संरचना एवं सेवा विस्तार र नारायणी अस्पतालमा विशेषज्ञ सेवाका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतीय प्राध्यापकले अध्यापन र विशेषज्ञ सेवामा सहयोग पुर्‍याउने विषयमा वार्तामा छलफल भएको थियो ।  

वार्तामा टेलिमेडिसिनसम्बन्धी सम्झौता नवीकरण, औषधिको दर्ता र आयात निर्यात सम्बन्धमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । भारतले आयुर्वेद चिकित्साको क्षेत्रको विकासका लागि गरेको प्रयासको प्रशंसा गर्दै उहाँले नेपालमा यसको विकास गर्नेबारे छलफल भएको जनाउनुभयो ।

भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै क्षयरोग उन्मूलनमा नेपालको प्रतिबद्वता जनाउनुभएको थियो । उहाँले विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र स्वास्थ्यका अधिकारीसँग दुई पक्षीय अनुभव आदानप्रदान जानकारी दिनुभयो । मालदिभ्सका स्वास्थ्य राज्यमन्त्री डा शाह अब्दुल्लाह माहिरसँग नेपालमा चिकित्सा र नर्सिङ अध्ययनका लागि सम्झौतापत्र नवीकरण गर्नेबारे छलफल भएको मन्त्री बस्नेतले बताउनुभयो ।  

उहाँले भ्रमणका क्रममा भारतको गुजरातका रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको अवलोकन तथा भ्रमण गर्नुभएको थियो । बस्नेतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्र, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, उहाँका सल्लाहकार विश्वरुप खड्का र मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य सल्लाहकार डा शम्भु आचार्य सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया