`

शुल्क वृद्धि खारेज गर्नुपर्ने माग

Nepal One HD ८ भदौ २०८० ७:३६
शिक्षा

काठमाडौँ – समाजवादी मोर्चाअन्तर्गत संयुक्त विद्यार्थी सङ्गठनले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज गर्नुपर्ने माग गरेका छन् । मोर्चाले बिहिबार यहाँ पत्रकार सम्मेलन गरी इन्जिनियरिङ अध्ययन संस्थान (आइएओइ)लाई शुक्रबार बेलुकासम्म शुल्क वृद्धि खारेज गर्न माग गरेका हुन् ।

विभिन्न चार विद्यार्थी सङ्गठनले इन्जिनियरिङको स्नातक तहअन्तर्गत नियमिततर्फको शुल्क रू ३५ हजारबाट बढाएर रू ८२ हजार र पूर्णतर्फ रू तीन लाख ३० हजारबाट बढाएर रू सात लाख ७५ हजार पुर्‍याइएकोप्रति आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंहले शुल्क वृद्धि खारेज गर्नुपर्ने भन्दै वार्ताको मञ्चन गरेर भ्रममा नपार्न आग्रह गर्नुभयो । उहाँले विभिन्न कलेजहरूमा भइरहेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको जनाउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शुल्क वृद्धिले विद्यार्थी मर्कामा परेको भन्दै तत्काल शुल्क वृद्धि खारेज गर्नुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा जनता समाजवादीनिकट विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव, नेकपा विप्लवनिकट अखिल (क्रान्तिकारी)का महासचिव नरेन्द्र विश्वकर्मालगायतले शुल्क वृद्धि फिर्ता गरी शिक्षालाई आम नागरिकको पहुँचसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभएको थियो ।


प्रतिक्रिया