चीनको नक्सामा छिमेकीको विरोध, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कुरा हुन्छ : अग्निप्रसाद सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने जनाएको छ । चीनको नयाँ नक्साले छिमेकी राष्ट्रहरु चिढिएका छन् । चीनले आफूहरुको सार्वभौमिकता ख्याल नगरी नयाँ नक्सा जारी गरेको भन्दै ३ राष्ट्रले विरोध जनाउँदा नेपाल भने मौन देखिन्छ ।
चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश छैन । सन् २००६ यता चीनले नक्सा अध्यावधिक गर्दै आएको छ । चीन छिमेकीहरुको समेत भूभागमा आफ्नो दाबी गर्दै गत सोमबारमात्रै नयाँ नक्सा जारी गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ ।’
