`

केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा

Nepal One HD २२ भदौ २०८० २०:४०
राजनीति

काठमाडौँ, २२ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय नेतालाई प्रशिक्षण दिइरहेको छ । जसपाले सङ्गठन विस्तार, पुनःगठन र रूपान्तरणका साथै नेतालाई प्रशिक्षित गर्ने कामलाई भदौ महिनादेखि अभियानका रूपमा सञ्चालन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका समितिदेखि प्रदेश समितिसम्मले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेका तथा प्रशिक्षणमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य र सङ्घीय परिषद् सदस्य प्रशिक्षणमा सहभागी हुने गरेका छन् ।यसका अतिरिक्त प्रदेश र स्थानीय तहका तोकिएका अगुवा कार्यकर्ता पनि प्रशिक्षणमा सहभागी रहेका सो पार्टीले जनाएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद र पार्टीको मूल नारा सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिने गरिएको बताइएको छ । काठमाडौँमा भदौ २२ गते, यसैगरी भदौ २२ र २३ गते उदयपुरमा, विराटनगरमा २६ गते केन्द्रीय तहका नेतासहितको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।उहाँका अनुसार केही प्रदेश सङ्गठन पुनःगठन कार्य सम्पन्न भएलगत्तै प्रशिक्षण कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दैछन् । प्रशिक्षण, अभिमुखीकरण, सङ्गठन पुनःगठन र रूपान्तरण गरी कात्तिक मसान्तसम्म प्रदेश समिति र राष्ट्रिय समितिले सम्पूर्ण सदस्यको अभिलेख केन्द्रमा पठाइसक्नुपर्ने जसपाले जनाएको छ ।


प्रतिक्रिया