`

कैदीबन्दीले बुनेका मुढा चीन निर्यात

Nepal One HD २५ भदौ २०८० २०:४७
समाचार

तनहुँ – तनहुँको सदरमुकामस्थित दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीन निर्यात हुन थालेको छ । गत साउनको अन्तिम साता पहिलो पटक मुढा चीन निर्यात भएको सो कारागार प्रशासनले जनाएको छ । यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएपछि माग बढ्ने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो ।

बाह्य देशमा मुढा निर्यात हुन थालेपछि कैदीबन्दी उत्साहित भएर मुढा बनाउने कार्यमा खट्दै आएका छन् । कारागारमा अहिले २० महिलासहित कूल दुई सय ८७ कैदीबन्दी छन् । जसमा तीन बालिका कैदीबन्दी महिलासँग नै आश्रित रहेको सो कारागारले जनाएको छ ।

“एक हजार तयारी मुढा चीन पठाइएको छ”, उहाँले भन्नुभयो, “प्रति मुढा रु पाँच सयका दरले बिक्रीका लागि पठाइएको हो ।” कारागारको ‘ए’ ब्लकमा रहेकामध्ये करिब ४५ जनाले बुनेका मुढा स्थानीय बजारमा खपत हुने गरेको सो कारागारले जनाएको छ ।

त्यसैगरी ‘बी’ ब्लकमा रहेकामध्ये ७० कैदीबन्दीले निर्माण गरेको मुढा बाह्य देशमा निर्यात हुने गरेको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महिला कैदीबन्दी भवनमा रहेका २० महिला कैदीबन्दीमध्ये अधिकांश तानबाट कपडा बुन्ने कार्यमा व्यस्त छन् ।

कारागारमा रहेका अधिकांश कैदीबन्दीले सीप सिकेर आयआर्जन गरी समय समयमा घर खर्च पठाउने कार्य पनि गरेको उहाँले बताउनुभयो । व्यापारीले पेश्की स्वरुप दिएको रकमले मुढा बनाउन आवश्यक कच्चा पदार्थ खरिद गरी मुढा बनाउने गरेका छन् । उहाँले भन्नुभयो, “कारागार प्रशासनले उक्त सामग्री खरिदका लागि सहजीकरण गर्दै आएको छ ।”


प्रतिक्रिया