कूटनीतिक क्षेत्रमा बिपीको योगदानलाई सबैले सम्मान गर्नुपर्छ : नेता ज्ञवाली


काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।
कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो । सो विषयमा मन्तव्य राख्दै
नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले चीनसँग सम्बन्ध राख्दा भारत विरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनुपर्दैन भनेर बिपीले लिनुभएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको बताउनुभयो ।
नेता ज्ञवालीले बिपीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिनुभएको, भारतको अनुचित दबाबलाई बिपीले अस्वीकार गर्नुभएको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा बिपीले राष्ट्रियतालाई प्राथमिकता दिनुभएको बताउनुभयो । उहाँले बिपीसँगको राजनीतिक लाइनमा समर्थन जनाउन नसकिए पनि कूटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्नुपर्ने बताउनुभयो ।