प्रत्येक नागरिकले दिनको एक घण्टा शारीरिक व्यायामको लागि समय दिनुपर्छ : मन्त्री बस्नेत


भरतपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक नागरिकले दिनको एक घण्टा समय शारीरिक व्यायामको लागि छुट्याउनुपर्ने बताउनुभएको छ । चितवनको खैरहनी नगरपालिका–११ गैँडाहाबाट सुरु भएको ‘ब्युटिफुल माइण्ड’ राष्ट्रिय जनजागरण अभियानको उद्घाटन गर्दै मन्त्री बस्नेतले शरीर स्वस्थ राख्नका लागि व्यायाम अनिवार्य भएको बताउनुभयो । “मैले बिहान नसके बेलुका व्यायाम गर्छु । स्वास्थ्य स्वस्थ राख्न व्यायाम आवश्यक छ”, उहाँले भन्नुभयो, “एक घण्टा आफ्नो लागि छुट्याउनुपर्छ ।” बेलैमा दैनिक व्यायाम गरेमा दीर्घरोगको समस्या नहुने उहाँले बताउनुभयो । व्यायाम गरेपछि मानसिक स्वास्थ्यसमेत ठीक हुने मन्त्री बस्नेतको भनाइ छ ।
उहाँले स्वास्थ्य र शिक्षा निःशुल्क भए आत्महत्याको दरसमेत कम हुने बताउनुभयो । स्वास्थ्य र शिक्षालाई सहज बनाउनतर्फ सरकार लागेको उहाँको भनाइ छ । “अहिले नेपाल सकारले प्लस टुसम्म निःशुल्क गर्ने व्यवस्था ल्याउँदै छ”, उहाँले भन्नुभयो, “हुनेखानेका लागि सहज बनाउने र गरिबलाई निःशुल्क बनाउने हो ।” कम्तीमा स्नातक तहसम्म निःशुल्क शिक्षा दिन सरकारले सक्नुपर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले आफू मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभयो । “अहिले जनरल बेड निःशुल्क गरिएको छ । प्राइभेटमा पनि १० वटा बेड निःशुल्क हुनुपर्ने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “गरिब र विपन्नले पनि सहज उपचार पाउनुपर्छ भन्नेमा सरकार छ ।”