बालेनको भारत भ्रमणको तयारीमा काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र भइरहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। नेपाल आइपुगेलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने तथा द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
भेटका क्रममा दुई देशबीच रहँदै आएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध, बहुआयामिक साझेदारी र आपसी सहयोगलाई थप उचाइमा पुर्याउने विषयले प्राथमिकता पाएको बताइएको छ।
प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणलाई केन्द्रमा राखेर मिश्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनको भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तथा त्यससँग जोडिएका द्विपक्षीय एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ।
