ट्रम्पको नीतिले रिपब्लिकनलाई धक्का, दुवै सदनमा डेमोक्र्याटको अग्रता
काठमाडौं । अमेरिकामा प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेसँगै राजनीतिक समीकरणमा फेरबदल देखिएको छ। प्रारम्भिक मतपरिणाममा डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। उपलब्ध परिणामअनुसार दुवै सदनमा डेमोक्र्याटको उपस्थिति बलियो देखिएको छ।
प्रतिनिधिसभातर्फ डेमोक्र्याटिक पार्टीका उम्मेदवारले अहिलेसम्म १०२ स्थानमा जित हासिल गरेका छन् भने थप १०० क्षेत्रमा अग्रता लिएका छन्। रिपब्लिकन पार्टीले ५८ स्थानमा जित निकाल्दा ७७ क्षेत्रमा अग्रता कायम गरेको छ। बाँकी निर्वाचन क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
यस निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिका साथै इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमण प्रमुख चुनावी मुद्दा बनेका छन्। ती नीतिप्रति असन्तुष्ट मतदाताको प्रभाव निर्वाचन परिणाममा देखिएको विश्लेषण गरिएको छ।
मिचिगनमा उम्मेदवार रहेका अब्दुल अल सायदलाई समर्थन गर्ने यहुदी र अश्वेत मतदातालाई लक्षित गर्दै ट्रम्पले दिएको विवादास्पद अभिव्यक्तिले पनि रिपब्लिकन उम्मेदवारलाई असर पारेको बताइएको छ। अर्कोतर्फ इरानमाथिको आक्रमणपछि इन्धनको मूल्य बढ्दा सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित भएको विषय पनि मतदाताले उठाएका छन्।
सिनेटतर्फ पनि डेमोक्र्याटिक उम्मेदवारहरूले विभिन्न राज्यमा सफलता हासिल गरेका छन्। नर्थ क्यारोलिनामा रोय कुपर, न्यु ह्याम्पसायरमा क्रिस पापास, जर्जियामा क्रिस उसफ र डेलावेयरमा त्रिलस कुनसले जित निकालेका छन्। न्यु जर्सीमा कोरी बुकर र रोड आइल्यान्डमा जोन रिड निर्वाचित भएका छन्। कोलोराडो, इलिनोइस, भर्जिनिया र न्यु मेक्सिकोमा पनि डेमोक्र्याटिक उम्मेदवारले सफलता पाएका छन्।
नर्थ क्यारोलिनाबाट निर्वाचित रोय कुपरले इरानसँगको युद्ध अन्त्य गर्न सरकारमाथि दबाब दिने बताएका छन्।
यसैबीच फ्लोरिडाको गभर्नरमा रिपब्लिकन उम्मेदवार ब्रायन डोनाल्ड निर्वाचित भएका छन्। उनी राज्यको पहिलो अश्वेत गभर्नर बनेका छन्। अमेरिकी इतिहासमा पहिलोपटक सिनेटमा एकै समयमा तीन अश्वेत महिला रहने अवस्था बनेको छ। डेलावेयरकी लिसा ब्लन्ट र मेरील्यान्डकी एन्जेला अल्सोब्रुक यसअघि नै सिनेट सदस्य छन् भने इलिनोइसबाट डेमोक्र्याटिक उम्मेदवार जुलियाना स्ट्रोन निर्वाचित भएकी छन्।
रिपब्लिकनको परम्परागत प्रभाव रहेका राज्यहरूमा समेत यसपटक डेमोक्र्याटिक उम्मेदवारहरूले चुनौती दिएका छन्। टेक्ससमा करिब ३० वर्षदेखि डेमोक्र्याटले सफलता हासिल गर्न नसकेको अवस्थामा जेम्स टालारिको प्रतिस्पर्धामा छन्। मिचिगनमा अब्दुल अल सायद पनि चर्चामा छन्। साउथ क्यारोलिना, फ्लोरिडा र कान्सासमा कडा प्रतिस्पर्धा देखिएको छ भने ओहायोमा डेमोक्र्याटिक उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्।
फ्लोरिडामा ट्रम्पको आप्रवासन नीतिको प्रभाव चुनावी बहसमा देखिएको छ। रिपब्लिकनको परम्परागत आधार मानिने यस राज्यमा हिस्पानिक मतदातालाई आकर्षित गर्ने प्रयास गर्दै डेमोक्र्याटिक उम्मेदवारहरूले प्रतिस्पर्धा बढाएका छन्।
