काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणको तयारीका लागि मिश्री नेपाल आएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूची र द्विपक्षीय छलफलका विषय तय गर्ने तयारी छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्रीले कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान हुनेछ ।
मिश्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ अधिकारी तथा राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गर्ने तयारी रहेको छ ।
यसअघि प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो सातातिर हुने चर्चा भए पनि भ्रमणको मिति औपचारिक रूपमा सार्वजनिक भएको छैन । भारतीय विदेश सचिवको यस भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ ।
साथै, मिश्री दुईदिने भ्रमण पूरा गरी बिहीबार कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।
