`

बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौ : ऊर्जामन्त्री बस्नेत

Nepal One HD ३१ भदौ २०८० १७:३८
राजनीति

काठमाडौँ – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्रधनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताउनुभएको छ ।

उहाँले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्रधन जरुरी रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवद्रधनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।

निजी क्षेत्रले चार्जिङ स्टेशन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत् प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मर समेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्रधनका लागि गर्न सकिने जति सबै काम गरिने विश्वास दिलाउनुभयो ।

उहाँले प्राधिकरणले हालै मात्र देशभर ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिँदै क्रमशः देशभर नै थप त्यस्ता स्टेशन निर्माण गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताउनुभयो । निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेशन निर्माणका लागि लगानी गर्न आग्रह गर्नुहुँदै मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरणको संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले सरकार विद्युतीय सवारी साधनको प्रवद्रधन गर्नुको पछाडि वातावरणको संरक्षणका अलावा पेट्रोलियम पदार्थको खरिदका लागि विदेशिने ठूलो रकम जोगाउनका लागि समेत सहयोगी बन्ने स्पष्ट पार्नुभयो । सो अवसरमा नाडाका पदाधिकारीले मेलामा राखिएका विद्युतीय सवारी साधनको बारेमा जानकारी गराउँदै नीतिगत स्थिरता कायम गरिदिन र विद्युतीय सवारीमा लाग्दै आएको कर घटाइदिन मन्त्री बस्नेतसँग आग्रह गर्नुभएको थियो ।


प्रतिक्रिया