`

पुष्पा र अञ्जलीलाई कोशी टप्पु पठाईदै

Nepal One HD ६ असोज २०८० १३:५६
अर्थ समाचार

काठमाडौ– चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइँदै छ । असोज १० गते उक्त दुई गैँडालाई कोशी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको हो ।

कोसीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो । विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो । प्रतिबेदनमा कोशीमा गैडाको उपयुक्त बतावरण निर्माणका साथै सुरक्षा ब्यबस्थाको प्रबन्ध मिलाएर लान भनिएको ढकालले बताएका थिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा अहिले गैँडा छैनन् । चितवनबाट लगिएका गैँडालाई खुल्ला खोरमा राखिने र त्यहाँको बातावरणमा घुलमिल भए पछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ । कोसीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए । पछिल्लो गणना अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ ।


प्रतिक्रिया