दाङमा देउता चढेको भन्दै जथाभावी खुकुरी प्रहार, एक जनाको मृत्यु


दाङ – दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो साढे २ बजे तुलसीपुर स्थित बेलटाकुरा भगवती टोल बस्ने टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट ज्यान गुमाउनेमा तुलसीपुरकी रिता लामिछाने रहेकी छन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै सोही ठाउँका वीरबहादुर हमाल र कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने ठोस कुरा नखुलेपनि हमालले आफुलाइृ देउता चढेको बताएका प्रहरीले जनाएको छ ।