एमाले प्रथम बागमती अधिवेशन : बन्दसत्र सुरु


काठमाडौं– नेकपा एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा निकै ढिलोगरी नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र सुरु गरिएको हो । नेतृत्व चयनमा सहमति कायम गराउने प्रयासमा बन्दसत्र सुरु गर्न ढिलाई भएको हो । यद्यपी, सहमितबाटै नेतृत्व चयन गर्ने प्रयासले भने अहिलेसम्म सार्थकता पाउन सकेको छैन ।
एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेले नेतृत्वका लागि आकांक्षी छन् ।
उपाध्यक्षको लागि भने एमाले मकवानपुरका नेता अनन्तप्रसाद पौडेल, चितवनका दावा लामा,दोलखाका ईश्वर चन्द्र पोखरेल,काभ्रेका कुमार खकुरेल लगायतको नाम चर्चामा छ । अधिवेशन उद्घाट कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएका थिए । त्यसैले पनि अध्यषका आकांक्षीले एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।