`

लेखा समितिले माग्यो टेरामक्स प्रविधि खरिद प्रक्रियाका सबै कागजात

Nepal One HD २६ असोज २०८० १५:१३
अर्थ समाचार

काठमाडौ–सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिले सम्मका काजगात पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अहिले सम्मका कागजात र निर्णयहरुको प्रमाणित प्रतिलिपी सात दिनभित्र समितिमा पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

बैठकले दुरसञ्चार सेवा प्रदायहरुले तिर्न बाँकी कर, राजस्व र दायित्व तीन महिनाभित्र असुल उपर गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यस्तै, निर्धारित समयभित्र राजस्व नतिर्ने सेवा प्रदायकहरुलाई कारवाहीको दायरामा ल्याइ त्यसको जानकारी समितिमा उपलव्ध गराउन पनि निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । बैठकले ग्रामिण दुरसञ्चार कोष अन्तर्गतका योजनाहरु सुस्त रहेको पाइएको र सूचना राजमार्गमा अप्टीकल फाइबर बिच्छाउने कार्यले अपेक्षित गति लिन नसकेको भन्दै शिघ्र उक्त कार्य सम्पन्न गर्न पनि निर्देशन दिएको छ ।

बैठकले प्रतिष्पर्धाका कारण विश्व दुरसञ्चार सेवामा शुल्क घटेपनि नेपालमा घट्न नसकेकाले गुणस्तरीय सेवा न्यून शुल्कमा उपलव्ध गराउन निर्देशन दिएको सभापति पोखरेलले जानकारी दिए ।

यस्तै, समिति बैठकले स्मार्ट टेलिकमको लाइसेन्स बिक्रिको कार्य गैरकानूनी तवरले भइरहेको जानकारी आएकोले हाललाई उक्त कम्पनीको लाइसेन्स बिक्रि कार्यलाई स्थगित गर्न र यससम्बन्धी कागजात समितिलाई उपलव्ध गराउन पनि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया