मुलुकको अर्थतन्त्र गम्भीर संकटमा, समाधानमा सरकार भने गम्भिर देखिएनः पूर्वअर्थमन्त्री पौडेल


रुपन्देही– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको तर आवश्यकता अनुसार सरकार भने गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए ।
अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा जोड दिए ।
उनले अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न चासो नदिएको आरोप लगाए । सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेको बताउँदै सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको र उद्योगीका समस्या सुनेर समाधान गर्न नसकेको धारणा राखे ।