कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण
कर्णाली, २९ असोज : कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २७१ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । कर्णाली प्रदेशसभा सचिवालयबाट आइतबार प्रदेश प्रमुखको कार्यालयले निजामती सेवा विधेयक प्राप्त गरेको थियो । उक्त विधेयक प्रदेशसभाबाट यही असोज २२ गते सर्वसम्मतले पारित भएको थियो ।
विधेयक कर्णाली प्रदेशको राजपत्रमा प्रकाशनपश्चात् अब ऐन बनेर कार्यान्वयनमा जानेछ । यसले प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सिर्जना, माग, पदपूर्ति, सेवासुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास तथा उनीहरुको अभिलेखीकरणमा सहयोग पुग्नेछ ।प्रदेशको प्रशासन सञ्चालन गर्न प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त तथा निजामती कर्मचारीको व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय निकायका रुपमा काम गर्ने ऐनमा व्यवस्था गरिएको छ ।
