संसदमा असीमित समयसम्म बोल्न पाउने अभ्यासमा परिमार्जन आवश्यकः सांंसद राणा
काठमाडौ– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुख लगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताएका छन् । संसदमा कुनै मुद्दा उठेपछि सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नै पर्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उनको तर्क छ ।
संसदको लामो प्रक्रियाका कारण कतिपय अवस्थामा दिक्क पनि लाग्छ तर त्यही प्रक्रिया र वृहत छलफलका कारण पारित भएका विधेयक दिगो हुने उनको भनाइ छ । सांसद राणाले भने, “यसको अर्थ मैले संसदीय प्रक्रिया ‘सर्टकट’ बनाउनुपर्छ भन्न खाजेको होइन तर यसबारेमा सोच्नुपर्ने बेला आएको छ ।” उनले साना मुद्दामा पनि प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दा संसदले अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।
“विपक्षी पनि धेरै भए । केही दल र सांसद अपरिपक्व रुपमा प्रस्तुत हुँदा पनि सदन अवरोध हुने गरेको छ”, उनले भने । सरकारले पर्याप्त विजनेश दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उनको बुझाइ छ । “गठबन्धनका कारण सरकारमा धेरै पार्टी छन्, विधेयक ल्याउन पनि समय लाग्ने, अर्को कुरा संसदमा पार्टी पनि धेरै छन्”। संसद राणाले भने ।
मुलुकका पछिल्ला भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानविन गरी त्यसमा संलग्न दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने उनले सुझाव दिए ।
