रसुवाको भोटेकोसीमा सशस्त्र प्रहरी बलको खोताखोर परिचालन
रसुवा- नदीमा हराई रहेका एक व्यक्तिको खोजी कार्य थप प्रभावकारी बनाउन रसुवाको भोटेकोसी खोलामा गोताखोर परिचालन गरिएको छ । रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–१ थुमन निवासी अन्दाजी ३५÷ ३६ वर्षका काले भनिने छिरिङ तामाङ रोङ्गा आसपास क्षेत्रको भोटेकोसी खोलामा हाम्फाली यही ८ गते बेपत्ता भएका र बाहिरी भागमा फेला नपरेपछि पानी भित्रका भागमा खोजतलास गर्न सशस्त्र प्रहरी बलको खोताखोर परिचालन गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख सुभाष बुढाथोकीका अनुसार आजदेखि गोताखोर परिचालन गरिएको छ । मानिस एवं ड्रोन क्यामराको सहायताले घटनास्थलदेखि खोलाको तटिय क्षेत्रका बाहिरी भागमा खोज उद्धारबाट पत्ता नलागेपछि पानीभित्रका भागमा जान खोताखोर झिकाइएको हो ।६ गते थुमनकै एक ज्येष्ठ नागरिकलाई कुटपिट गरेको आरोपमा सोधपुछका लागि थुमनबाट धुञ्चे ल्याउने क्रममा यही ८ गते छिरिङले प्रहरीको सवारी साधनमा बस्न नमानी उहाँकै भाञ्जा नाताका दावा तामाङको मोटर साइकलमा धुञ्चेस्थित जिल्ला प्रहरी कार्यालय गएका थिए ।थुमनबाट छुटेको केही बेरमै तार्सागाउँको केही तल मोटर साइकल ढालेर भाग्दै भोटेकोसी खोलामा छिरिङ हाम्फालेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । गाउँ समाजको माझमा रहेको प्रहरी चौकीले जिल्लास्तरमा लाँदा पुलिसले समात्यो भन्ने नकारात्मक हल्ला फैलिने आशंकाले निजी मोटर साइकलमा चढेको हुनसक्ने अनुमान गरिएको छ ।मोटर साइकल चढाउने नेकपा एमाले र बेपत्ताहुने कांग्रेसको स्थानीय कार्यकर्ता भएको भन्दै नेपाली कांग्रेस रसुवाले एक विज्ञप्ति मार्फत घटनाको सत्यतथ्य छिट्टै पत्ता लगाई सार्वजनिक गरिदिन अनुरोध गरेको छ । नेपाली कांग्रेस रसुवाले विज्ञप्ति मार्फत भनेको छ थुमन प्रहरी चौकीका इञ्चार्ज रामविद्या शाह र अर्का सुरक्षाकर्मी जगतनारायण यादव समेत पछिपछि रहेको अवस्थामा घटना कसरी भयो भन्ने प्रश्न समेत गरेको छ । प्रहरीले भने आफ्ना पुरै जनशक्ति खोजउद्धारमा परिचालन गरिरहेको छ ।उता प्रहरी प्रमुख बुढाथोकीले भने खोज उद्धारमा कुनैपनि कमी हुन नदिने बताउँदै घटनाको अनुसन्धान र खोज कार्य सम्पन्न भएपछि सत्यतथ्य बाहिर आउने, प्रमाण र अनुसन्धानले कुनै व्यक्ति दोषी देखाएमा कारबाही हुने प्रष्ट पार्दै प्रहरीलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरिएको छ ।रसुवाको भोटेकोसी खोला गहिरो खोचका साथै बढी ढुङ्गा भएका कारण खोलामा परेको मानिस पाउने सम्भावना भने अत्यन्तै न्यून रहेको विगतका घटनाक्रमले पुष्टि गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
