एमालेको चियापान, प्रधानमन्त्री सहित सबैजसो दलका प्रमुखको उपस्थिति
काठमाडौ– दसैँ, तिहार र छठ पर्वका अवसरमा नेकपा एमालेले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । चियापान समारोहमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेतृ रामकुमारी झाँक्री लगायत सहभागी थिए ।
यस्तै, कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरु पनि चियापान समारोहमा उपस्थित थिए । पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको चियापान समारोहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए ।
यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि चियापान समारोहमा सहभागी थिए । एमालेले पार्टीका कार्यकर्ताका लागि साढे १२ बजे र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि साढे २ बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।
