`

स्वास्थमन्त्री बस्नेतद्वारा १५ शय्याको नगर अस्पताल शिलान्यास

Nepal One HD २६ कार्तिक २०८० १७:४८
राजनीति

काठमाडाैँ, २६ कात्तिक : स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका नौविसेमा अवस्थित १५ शय्याको नगर अस्पताल भवन शिलान्यास गर्नुभएको छ ।

नगरपालिकामा आज आयोजित शिलान्यास कार्यक्रममा मन्त्री बस्नेतले शिलान्यास भएको अस्पतालका लागि आवश्यक जनशक्ति र एक्सरे तथा प्राविधिक सामग्री उपलब्ध गराउने बाताउनुभयो । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निःशुल्क उपचार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।मन्त्री बस्नेतले सरकारी अस्पतालको दश प्रतिशत शय्या निःशुल्क बनाइएको जानकारी दिँदै छ महिनाभित्र नेपालका सबै सरकारी अस्पतालमा स्वास्थ्यकर्मचारीको अभाव अन्त्य गरिने बताउनुभयो ।नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाले शिलान्यास भवन एक वर्षभित्र तयार गरी सेवा दिन थाल्ने बताउनुभयो । कान्छो नगरपालिका भएर पनि आफ्नो स्वास्थ्य भवन निर्माण गर्न थालेकामा सबै स्थानीयवासीका लागि खुसीको कुरा भएको बताउनुभयो ।नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अस्पतालको लागि दक्ष डाक्टर र उपचारमा आवश्यक सामग्री उपलब्ध गराउन सङ्घीय सरकारलाई अनुरोध गर्नुभयो । उहाँले उपलब्ध बजेट रु २३ करोड भएको भए पनि रु २२ करोड ८६ लाखमा भवन बनाउन ठेक्का दिइएको बताउनुभएको थियो ।मन्त्री बस्नेतले आजै नव निर्मित चण्डेनी स्वास्थचौकी भवन उद्घाटनसमेत गर्नुभएको थियो ।—


प्रतिक्रिया