हमास–इजरायल युद्धविराम, विपिनको रिहाईको आशा
काठमाडौ– इजरायल–प्यालेस्टिनबीच भईरहेको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ । युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति भएको छ । सहमति बमोजिम इजरायलले पनि बन्धक बनाएका १५० जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्नेछ । प्यालेस्टाइनले रिहा गर्ने ५० जनामा नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ । उनी ७ अक्टोबरमा हमासको कब्जामा परेका थिए ।
इजरायली र अन्य विदेशी नागरिकसँगै हमासले जोशीलाई कब्जामा लिएर बन्धक बनाएको छ । तर, इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले भने अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको रिहाबारे स्पष्ट जानकारी नआएको बताएकी छन् ।
पहिलो चरणमा ५० जना रिहा गर्ने भनिएपनि को को रिहा हुँदैछन् भन्ने केही नखुलेको र आफुले जोशीको पहिलो चरणमै रिहा गर्न पहल गरिरहेको राजदूत रिजालको भनाइ छ । इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
