`

मधेस प्रदेशको दोस्रो अधिवेशन सुरु, सोमबारको बैठकमा के भयो ?

Nepal One HD १२ मंसिर २०८० ५:४०
राजनीति

धनुषा – मधेस प्रदेशको प्रदेशसभाको बैठक लामो समयपछि सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशसभाको सोमबार दोस्रो अधिवेशनको तेस्रो बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ ।गत असोज महिनाको २९ गते बैठक सुरु हुने बित्तिक्कै नेकपा एमालेका उपनेता दीपेन्द्र ठाकुरले सुशासन सहितको माग गर्दै बैठक अवरुद्ध गरेपछि प्रदेशसभाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएको थियो । प्रदेशसभाले करिब डेढ महिनाभन्दा बढी समयपछि सोमबार बसेको तेस्रो बैठकबाट चार महत्वपूर्ण निर्णय गरिएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठकले प्रदेश सांसद अनिरुद्धप्रसाद सिंहको निलम्बन फुकुवा गरेको छ । गत भदौ १८ गते पक्राउ गरी पुर्पक्षका लागि थुनामा रहेको बेला उहाँलाई निलम्बन गरिएको थियो । गत कात्तिक २३ गते तारिकमा थुनाबाट छुटेको भन्दै सांसद सिंहले निलम्बन फुकुवाको लागि सभाको सचिवालयमा सोमबार निवेदन दिनुभएको थियो । छुटेको मितिदेखि नै निलम्बन फुकुवा गरिएको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरूमा रहनुभएका सदस्यहरूको समिति हेरफेर गर्ने निर्णय गरेको छ ।

समिति हेरफेर गर्ने निर्णयअनुसार योजना तथा अर्थ समितिका सदस्य सञ्जयकुमार महतोलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, विकास समितिबाट सरोजकुमार यादवलाई प्रदेश मामिला समितिमा, सांसद सञ्जयकुमार यादवलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, सांसद वसन्तकुमार कुशवाहकलाई सार्वजनिक लेखा समितिमा, बेची लुङ्गेलीलाई प्रदेश मामिला समितिबाट विकास समितिमा र सांसद रत्नेश्वर गोइत यादवलाई विकास समितिबाट प्रदेश मामिला समितिमा जिम्मेवारी हेरफेर गरिएको सभामुख मण्डलले जानकारी दिनुभयो ।

त्यस्तै गत असारमा २६ गते गठन गरेको विशेष संसदीय छानबिन समितिको म्याद पनि थप गरिएको छ । सभाको बैठकले यही मङ्सिर महिनाको मसान्तसम्म म्याद थपको प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभामा समितिका सभापति उपेन्द्र महतोले म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रदेश सरकारको आर्थिक वर्ष ०७९÷८० को कार्यक्रमको छानबिन गरी प्रतिवेदन पेस गर्न १० सदस्यीय सो समिति गठन गरिएको थियो । त्यसबेला समितिको साउन १ गतेदेखि भदौ मसान्तसम्म सयम सीमा तोकिएको थियो । यस अवधिमा समितिले समितिको सभापति चयन र कार्यविधि पारित गरेको सभापति महतोले सभामा जानकारी गराउनुभयो ।

बैठकले प्रदेश मामिला समिति र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापति पदको निर्वाचन २०८० साल मङ्सिर १४ गते दिनको ११ बजे गर्ने मिति तोकेको छ । सोको कार्यतालिका मिलाई सूची प्रकाशन गर्न सचिवालयलाई सभामुखले निर्देशनसमेत दिनुभएको छ ।

सभाको अर्को बैठक मङ्गलबार ११ बजे बस्नेगरी स्थगित भएको छ । अहिले मधेस प्रदेशसभाको दोस्रो अधिवेशन चलिरहेको छ । दोस्रो अधिवेशनमा यसअघि दुईवटा बैठकमात्र भएको र तेस्रो बैठकका रुपमा आजदेखि बैठक बसेको हो ।


प्रतिक्रिया