अध्यक्ष ओलीले गरे भेरी–बबई आयोजना निरीक्षण, काममा ढिलाईप्रति असन्तुष्टी
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको प्रति असन्तुष्टी व्यक्त गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहेका अध्यक्ष ओलीले मंगलबार आयोजनाको निरीक्षण गदैं तीन वर्ष अघि नै टनेल निर्माणको काम भएको भए पनि भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका हुन् ।
आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको अध्यष ओलीले बताए । ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुनेमा भने उनले विश्वास व्यक्त गरे । उनले निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न पनि आग्रह गरे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मंगलबार ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो । सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ भने आयोजनाबाट ४६.८ मेगावाट विद्युत् समेत उत्पादन हुने बताइएको छ ।
