निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ / परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
निर्वाचन आयोग र एसियन नेटवर्क फर फ्रि इलेक्सनको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउनका साथै निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा स्वायत्त निर्वाचन आयोग र यसले समयसापेक्ष आफुलाई परिवर्तन गर्दै बिभिन्न निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको धारणा राख्नुभयो ।
त्यस्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई प्रभावकारी बनाउनका लागि सवैको सुझाव आवश्यक रहेको बताउनुभयो । निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धतामा उहाँले जोड दिनुभयो ।
सम्मेलनमा एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
