`

सुदन किरातीको आलोचित वक्तव्य रणनीतिक कार्यक्रमको एउटा नियोजित अङ्ग हो

Nepal One HD १० पुष २०८० ९:४९
अन्तर्वार्ता/बिचार

डा. गोविन्दशरण उपाध्याय

१. इसाईहरूको महानचाड क्रिसमसको अवसरमा इसाईहरूप्रति शुभकामना दिनुको सट्टा ‘इसाईहरूले नेपालका मौलिक धर्मसंस्कार, संस्कृति तथा धर्मपरिवर्तन गर्न डलर खाएको’ भन्दै व्यापक गुनासाहरू पोखेको पढ्न सकिन्छ । यो सबै नेपाली इसाईहरूको धार्मिक तथा सांस्कृतिक व्यबहारका कारणले भएको हो । क्रिसमसका कार्यक्रमहरूमा जनजातिका पोशाक प्रदर्शन गरेर उपरोक्त आरोपबाट इसाईहरू चोखिन खोजेको बुझिन्छ ।तर सत्यलाई बख्खुले छोप्न सक्दैन । धर्मपरिवर्तन गरेर इसाई बनिसकेका व्यक्तिहरूले आफ्नो मौलिकता परिवर्तन गरिसकेको हुँदा ती भोटे, बाहुन, दमै, कामी वा क्षेत्री, मधेशी जे–सुकै जातिका हुन् ती नेपालको ‘रैथाने पहिचानसंग बिद्रोह गरेका व्यक्ति हुन् ।उनीहरूको जात ‘इसाईमात्र हो’ ।

२. क्रिसमस पर्वको वेलामा इसाईहरू विरुद्ध गालीगलौज गर्नेहरू ‘कागजका बाघ’ हुन्। नेपाली इसाई समुदाय र तिनका चाडवाड तथा चर्चहरूलाई गालीगलौज गर्दैमा धर्मपरिवर्तन रोकिन्न । यो तत्थ्य सुदन किराती, ऋषि धमला, विरोध खतिवडा र कांग्रेस पार्टीको मौन स्वीकृतिले सिद्ध भैसकेको छ । डा. बाबुराम भट्टराई र सुदनहरू त घोषित इसाई नै हुन् । इसाईहरूले शिक्षाक्षेत्रको प्रयोग गरेर ‘इसाई नेपालको प्रमुख धार्मिक समुह हो’ भन्ने तत्थ्य स्थापित गरिसकेको छ । नेपाल सरकारको तत्थ्यांक विभागलाई प्रयोग गरेर धर्मका महलमा “इसाई“ थप्न सफल भएको छ भने हिन्दुहरूलाई ‘धर्मका महलमा सीमित पार्न सफल भएका छन् । उनीहरू प्रतिक्रिया दिनुभन्दा पनि आफ्नो काममा बढी सक्रिय छन् ।नेपालको रैथाने संस्कृतिका पक्षधरहरूले असहमति व्यक्त गर्दागर्दै पनि हरेक वर्ष क्रिसमसको अवसरमा २४ देखि ३० हजार नेपालीहरूले धर्म परिवर्तन गर्छन् ।

३. सुदन किरातीको आलोचित वक्तव्य रणनैतिक कार्यक्रमको एउटा नियोजित अङ्ग हो । सुदन किरातीको वक्तव्य विरुद्ध जतिधेरै नकारात्मक प्रतिक्रिया हुन्छ त्यतिनै नेपाल क्रिश्चियन महासंघले ‘नेपालमा इसाईहरू असुरक्षित छन्, हिन्दूहरूका कारण नेपालमा इसाईहरूलाई ज्यान जोगाउन गाह्रो छ त्यसैले विश्वका मिसनरी र सरकारहरूले नेपाली इसाईहरूको मानमर्यादा र डिग्निटीको रक्षाका लागि आर्थिक सहयोग गर्नुपर्छ’ भन्दै पुनः सहयोग प्राप्त गर्छ । यो तत्थ्य प्रमाणित गर्न धेरै टाढा पुग्नु पर्दैन, समाज कल्याण परिषदमा आवद्ध इसाई संघसंस्थाले स्वीकृति लिएको बजेटको आकार हेर्दा पुग्छ । कागज मिलाएर ल्याएको बजेट अस्वीकृत गर्न मिल्दैन – एकजना अधिकृतले लेखकसंग भनेका थिए । त्यहाँबाट स्वीकृत अर्बौंको बजेट अपेक्षाकृत सोझा दुर्गमक्षेत्रका आदिवासीहरूको धर्मपरिवर्तन गर्न प्रयोग गरिएको छ ।

४. सरकारी तन्त्रभित्र इसाईहरूको व्यापक प्रभाव छ । हरेक वर्ष क्रिसमसको अवसरमा छुट्टी दिने र महत्वपूर्ण मन्त्रिहरूलाई कार्यक्रममा बोलाएर आफ्नो प्रभाव स्वीकार गर्न लगाउने – इसाई संस्थाहरूको रुटिन नै हो । प्रचण्ड, सुदन किराती, रामशरण महतआदिलाई कुनै हिन्दूहरूले बनाएको मन्दिर, सप्ताह वा अन्य चाडवाडमा उभिएर प्रवचन दिएको विरलै सुन्न पाइन्छ तर घृणावादलाई विस्तार गर्ने साँघुरो मानसिकता भएका धार्मिक–समुदायहरू स–साना आयोजनाहरूमा पनि उपर्युक्त नेतृत्वहरूको घुईचो लाग्छ । असलमा, यो सबै तुष्टीकरणको राजनैतिक परिपाटी हो । माओवादीको तुष्टीकरणको नीति कोशी प्रदेशको नाम करण र त्यसपछिको राजनैतिक अवस्थाले प्रष्ट पारेको छ । एमाले, कांग्रेसीहरू नेपालको मौलिकताका पक्षधर हुन् भन्ने भ्रममा नपर्दा हुन्छ । तुष्टीकरणको रोगले सबैलाई गाँजेको छ ।

५. नेपाली इसाई समुदाय र तिनको चाडवाडप्रति लक्षित असहमति स्वभाविक ठान्छु तर गालीगलौज अनुचित हो । नेपालमा इसाई–मिसनरिजहरूले सरकारी नीतिअनुसार काम गरिरहेका छन् । नेपालको बर्तमान संविधानले नै धर्मपरिवर्तन गर्न सजिलो बनाएको छ । कानुनको कार्यन्वयन गर्ने पुलिस–प्रसासनलाई ‘धर्मनिरपेक्षताको सम्मान’ गर्न आदेश छ । धर्मनिरपेक्षताको बन्धनले मिसनरिजका काममा हस्तक्षेप गर्न दिंदैन । पुलिसले कानुन कार्यन्वयन गर्दा तिनको तुरुन्त सरुवा हुन्छ वा विभागीय कार्वाही हुन्छ । सरकारी मिसनरिज र तुष्टीकरणको बाटोलाई सजिलो बनाउने नीतिमा छ । साथै , मिसनरिजहरूले समाजका प्रबुद्ध भनाउँदा बाहुनहरूलाई किनेर इसाई धर्म स्वीकार गराछन् र ती धर्मपरिवर्तन गरेका बाहुनलाई प्रयोग गरेर अन्य समुदायलाई धर्मपरिवर्तन गर्न प्रोत्साहित गराउँछन् ।


प्रतिक्रिया