मध्यजापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मध्य जापानमा एउटा शक्तिशाली भूकम्प गएको छ । जापानको नोटो प्रान्तमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको समाचारसंस्था रोयटर्सले जनाएको छ । भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ । समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन् ।
जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई तत्काल उच्च भागमा जान निर्देशन दिइएको छ । एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोटो क्षेत्रमा पुगेको छ । अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन् । ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्न सक्ने चेतावनी दिइएको छ ।
भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन । जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउन सक्ने अनुमान गरिएको छ ।
जापान सरकारका प्रवक्ता योशिमासा हयाशीले उक्त क्षेत्रका बासिन्दालाई थप भूकम्पका लागि तयार रहन चेतावनी दिएका छन् । टेलिभिजनहरूले मानिसहरूलाई तटीय क्षेत्र छाड्न आग्रह गरिएका सूचनाहरू प्रसारण गरिरहेका छन् ।
दक्षिण कोरियाको मौसम विज्ञानसम्बन्धी निकायले उक्त सुनामीको छाल त्यो देशको पूर्वी तटमा स्थानीय समयअनुसार बेलुका साढे छ बजेदेखि सवा सात बजेसम्ममा पुग्न सक्ने जनाएको छ।
