किमकी छोरी नै उत्तरको सम्भावित उत्तराधिकारी
बीबीसी । उत्तर कोरियाका नेता किम जङ–अनकी छोरी उनकी सम्भावित उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू–ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्।
दक्षिण कोरियाको गुप्तचर निकाय ’न्याश्ननल इन्टेलिजन्स सर्भिस’ले किम जू–ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो। यद्यपि उक्त निकायले नेतृत्वको उत्तराधिकारसँग सम्बन्धित प्योङ्याङका सबै सम्भावित योजना आफूले नियालिरहेको जनाएको छ।
किम जू–ए सन् २०२२ को अन्त्यतिर पहिलो पटक सार्वजनिक समारोहमा देखा परेकी थिइन्। त्यसपछि उनी चर्चामा रहँदै आएकी छन्। ‘पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जू–एका सार्वजनिक गतिविधि र उनले प्राप्त गरेको सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन्,’ नेशनल इन्टेलिजन्स सर्भिसले भनेको छ।
‘तर हामी सबै सम्भावना नियाल्दै छौँ किनभने किम जङ–अन अझै युवा छन्, उनको स्वास्थ्यमा ठूलो समस्या छैन र अरू धेरै परिवर्तनशील कुराहरू छन्।’ किम जू–ए उत्तर कोरियाका शासककी माहिली छोरी हुन् । उनको उमेर १० वर्ष भएको ठानिएको छ। गत महिना आयोजित एउटा पत्रकार सम्मेलनमा दक्षिण कोरियाका एक मन्त्रीले पनि उत्तर कोरियाली नेताको सम्भावित उत्तराधिकारीबारे उस्तै आकलन गरेका थिए।
‘किम जङ–अनकी छोरीलाई निरन्तर महत्त्व दिइनुलाई उत्तर कोरियाले विषम आन्तरिक अवस्थाका बीच चाँडोचाँडो उत्तराधिकारको उद्देश्य खुलाउन खोजेको प्रमाण मान्न सकिन्छ,’ एकीकरणसँग सम्बन्धित मामिला हेर्ने मन्त्री किम युङ–होले भनेका थिए।
उत्तर कोरियाबारे चासो राख्ने पर्यवेक्षकहरूले किम जू–एलाई सन् २०२२ को नोभेम्बर महिनामा पहिलो पटक सार्वजनिक गरिएपछि अहिले किमकी “प्रिय“ छोरीको साटो सम्मानित छोरी भनेर सम्बोधन गरिनु अर्थपूर्ण मानेका छन्।
