राष्ट्रियसभा सदस्य निर्वाचन : गठबन्धन र एमालेबीच चुनावी तालमेलको संभावना सकियो (भिडियो सहित)
काठमाडौ । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने स्पष्ट पारेको छ । आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गर्ने समझदारी बनेको हो । नेपाली कांग्रेस नेता रमेश लेखकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको बताएका हुन् । उनले भने ‘गठबन्धनमा आवद्ध दलबीच नै सिटको बाँडफाँट हुन्छ । गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’
सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि आजै अपरान्ह छलफल हुने बताइएको छ । पहिलो चरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुनेछ । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसले १३ र नेकपा माओवादीले ७ सिटमा दावी गरेका छन् ।
