`

सवारी ऐनमा एकरुपता कायम हुन्छ : मन्त्री ज्वाला

Nepal One HD ४ माघ २०८० २०:२५
राजनीति

काठमाडौंँ, ४ माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एकरुपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलायमा आज आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरुपता हुने गरी पहल भइरहेको बताउनुभयो । मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश सरकारसँग यस विषयमा तीन पटक बैठक बसिसकेको बताउँदै प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको जानकारी दिनुभयो । व्यवसायी र मजदुर सङ्गठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावलाई ऐनमा व्यवस्था गरिएको बताउँदै उहाँले भन्नुभयो, “ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्नेगरी हामीले तयारी थालेका छाँै ।

” छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक–फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले सञ्चालनमा रहेको भन्ने अभिलेखसम्म सरकारसँग नभएको बताउनुभयो । छलफलमा स्वरोजगार यातायात मजदुर सङ्गठन, एकीकृत यातायात मजदुर सङ्गठन, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घका पदाधिकारी सहभागी थिए ।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीको पनि सहभागिता थियो । छलफलमा व्यवसायी र मजदुर सङ्घ, सङ्गठनका पदाधिकारीले ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गर्दै दक्ष चालक पाउन मुस्किल भएको, दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । मन्त्रालयले सवारी ऐन २०४९ संशोधन गर्न सरोकारवाला निकायसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो ।


प्रतिक्रिया