घुससहित पक्राउ परेकी मालपोत अधिकृत पनेरु दोषी ठहर, ६ महिना कैद र डेढलाख जरिवाना


काठमाडौँ । घुससहित पक्राउ परेकी मालपोत कार्यालय ताप्लेजुङकी तत्कालीन प्रमुख लेखा पनेरु महत दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतका न्यायाधीश एकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । पनेरुलाई विशेष अदालतले ६ महिना कैद सजाय र एक लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
उनलाई अख्तियारको टोलीले २०७९ वैशाख ११ गते सोवाग्राहीबाट लिएको एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नुअघि निजामतीतर्फ उत्कृष्ट काम गरेको भन्दै उनले राष्ट्रपतिबाट तक्मा पाएकी थिइन् ।
त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घूस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई दुई लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरी मुद्दाा चलाएको थियो ।
अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको छ ।