`

‘लहान एक्पो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव’ आगामी चैतमा हुने

Nepal One HD १३ माघ २०८० ७:४३
समाज

सिरहा – सिरहाको लहानमा ‘लहान एक्पो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव आगामी चैतमा हुने भएको छ । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना हुन लागेको हो ।

लहानस्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजना र लहान नगरपालिकाको संरक्षकत्वमा २०८० चैत २९ गतेदेखि २०८१ वैशाख ९ गतेसम्म महोत्सव हुने जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

महोत्सवलाई सफल बनाउन प्रदेशका विभिन्न मन्त्रालय, नेपाल पर्यटन वोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घको साथ तथा सहयोग रहने अध्यक्ष सरडाले बताउँनुभयो । “लहान एक्स्पोले उद्योग, व्यापार र सांस्कृतिक क्षेत्रमा सम्बन्ध बनाउने एक महत्वपूर्ण कदमको रूपमा उत्कृष्टता प्रदान गर्ने विश्वास लिएको छु”, अध्यक्ष सारडाले भन्नुभयो, “यसले देशको आर्थिक गतिविधिलाई बढावा दिने योजनामा एक महत्वपूर्ण योगदान प्रदान गर्ने छ ।”

अध्यक्ष सारडाका अनुसार नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्तालाई एउटै मञ्चमा भेला गराई सामग्रीको प्रत्यक्ष अवलोकन तथा जानकारी गराउने उद्देश्यका साथ सञ्चालन हुने महोत्सवमा एक सय ५० स्टल राखिने छन् ।


प्रतिक्रिया