`

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

Nepal One HD १७ कार्तिक २०८३ १९:०७
समाचार

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट २०९ किलो गाँजासहित पाँच जना सोमबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारत बिहार मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन् ।

गाँजा लोड भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले बताए । पक्राउ परेकाहरूले प्रयोग गरेका बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका स्कार्पियो गाडीबाट २०९ किलो ४२० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधको अवैध कारोबार, ओसारपसार तथा सेवन नियन्त्रणका लागि सुनसरी प्रहरीले सञ्चालन गरिरहेको अभियानमा सहयोग गर्न प्रहरीले आम नागरिकसँग आग्रह गरेको छ ।

युवा पुस्ताको भविष्य जोगाउन, समाजलाई सुरक्षित बनाउन र लागूऔषध कारोबारको सञ्जाल तोड्ने अभियानमा प्रहरी र नागरिकबिच सहकार्य आवश्यक रहेको प्रहरी उपरीक्षक मल्लले बताए । लागूऔषध कारोबारमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन निष्पक्ष अनुसन्धान र प्रभावकारी कारबाही हुनुपर्नेमा उनले जोड दिए ।

लागूऔषध नियन्त्रणको सवालमा कुनै किसिमको सम्झौता नहुने उनले बताए । ‘अपराधीलाई संरक्षण होइन, कानुनी कारबाही हुनुपर्छ; त्यसमा जिल्ला प्रहरी कार्यालय सुनसरी प्रतिबद्ध छ,’ उनले भने ।

मल्लले थप भने, ‘सूचना दिनुहोस्, प्रहरीलाई सहयोग गर्नुहोस्, लागूऔषधमुक्त समाज निर्माणमा सबैको साथ र सहभागिता आवश्यक छ । लागूऔषध कारोबारमा ३० देखि ३५ वर्षमुनिका युवा पुस्ताको बढी संलग्नता देखिएकाले भोलिका दिनमा समाजको अवस्था अन्धकारमय हुनबाट जोगाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *