`

दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुन्छ : नेता लेखक

Nepal One HD १३ माघ २०८० १८:०९
राजनीति

दोधारा चाँदनी (कञ्चनपुर), १३ माघ : नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताउनुभएको छ ।आज कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि छिट्टै बोलपत्र आह्वान हुने बताउनुभयो । “सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबीच अन्तिम सम्झौता भइसकेको छ”, नेता लेखकले भन्नुभयो, “दुई–तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ ।”

त्यसैगरी उहाँले डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीनसम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको बताउनुभयो । “यस वर्ष कञ्चनपुरबाट डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “आउँदो प्रत्येक वर्ष एक–एक जिल्ला हुँदै महाकाली करिडोरलाई चीनसम्म जोड्ने हाम्रो योजना छ ।” उहाँले महेन्द्रनगरस्थित मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउन र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर बनाउने प्रयास भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता आइतबारदेखि

कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा हुने तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । “माघ १४ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी सबै पूरा भएको छ”, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले भन्नुभयो, “कोशी र लुम्बिनी प्रदेशबाहेकका अन्य आठवटा टिम महेन्द्रनगर पुगिसकेका छन् ।”

प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टिम गरी १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा एक सय ५० जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन् । त्यसैगरी प्रतियोगितामा एक जना अन्तर्राष्ट्रिय, १२ जना राष्ट्रिय र १२ जना प्रदेशका रेफ्रीको सहभागिता रहने छ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।

“प्रतियोगिताको सेमिफाइनलदेखिका चारवटा खेलमा रु पाँच हजारका दरले प्लेयर अफ द म्याचको पुरस्कारको व्यवस्था मिलाइएको छ”, भट्टले भन्नुभयो, “प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ ।” उहाँले प्रतियोगितामा विभिन्न छवटा विधामा जनही रु १०–१० हजारका दरले पुरस्कार प्रदान गरिने बताउनुभयो । प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुई दिनमा दुई खेल हुनेछन् ।


प्रतिक्रिया