आजदेखि एकीकृत समाजवादीको राष्ट्रिय परिषद बैठक
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले दोस्रो राष्ट्रिय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।
पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीको विधान हेरफेर गर्न आजदेखि काठमाडौँमा हुने परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टी निकट सबै कमिटीबाट सुझाव सङ्कलन गरेको हो । विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ । आजदेखि दुई दिनसम्म परिषद् बैठक बस्दैछ ।
देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने बैठकस्थल सजाइएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।
