हिंसात्मक क्रियाकलापमा संलग्न भएका नेतामाथि लागेका मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज गर्न सासंदको माग
काठमाडौँ / सांसदहरुले हिंसात्मक क्रियाकलापमा संलग्न भएका राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज हुनुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले राजनीतिलाई अनुशासित र मर्यादित बनाउनुपर्ने भन्दै राजनीतिको मुलधारमा ल्याउने नाममा मुद्दा फिर्ता लिन सक्ने प्रस्ताव खारेज गर्नुपर्नेमा जोड दिएका हुन् ।
हिंसात्मक क्रियाकलापको अपराधलाई राजनीतिक आवरणमा छुट दिन नहुने उनीहरुको भनाइ छ । बैठकमा समिति सदस्य रघुजी पन्तले राजनीतिक गतिविधिहरु शान्तिपूर्ण हुने कुरा संविधानमा रहेको भन्दै त्यसबिपरित कुनै कानून ल्याउन नहुने बताए । हिंसात्मक क्रियाकलापमा लागेर पैसा कमाउने र त्यसपछि राजनीतिमा आउने बाटो दिन नहुने उनको भनाइ छ । उनले प्रस्तावित प्रावधान जस्ताको तस्तै पारित भए अपराधीहरुलाई राजनीतिक आवरणमा हत्या हिंसा मच्चाउने बाटो खुल्ला हुने उल्लेख गरेका छन् ।
त्यस्तै समिति सदस्य सुमना श्रेष्ठले राजनीतिक आवरणमा अपराधीहरुलाई प्रोत्साहन गर्ने प्रावधान हटाउनुपर्ने बताइन् । उनले उक्त प्रावधान राख्नुले नियतमा शंका गर्ने प्रयाप्त आधारहरु देखिएको बताइन् ।
त्यस्तै समिति सदस्य ज्ञानेन्द्र शाहीले कुनै पनि दलले राजनीतिक आस्थाका आधारमा अपराध गरेपछि उन्मुक्ति दिदा मुलुक अफगानस्थान हुने खतरा रहेको बताए ।
.
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिलेको प्रस्ताव तत्कालिन अवस्थामा समस्या सम्बोधन गर्न ल्याइएको भन्दै अहिले सांसदहरुको सुझावहरुलाई स्वीकार गरेर अघि बढ्ने बताए । उनले उक्त प्रावधानकै आधारमा आफ्नो नियतमा प्रश्न नगर्न आग्रह गरे । उनले विधेयक समितिमा आएपनि त्यसलाई समृद्ध बनाएर पठाउन सक्ने जिकिर गरेका छन् ।
उनले समितिको निष्कर्षलाई सरकारले स्वीकार गर्न तयार रहेको बताए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउन मुद्दा फिर्ता सकिने प्रस्ताव गरिएको छ ।
