संसदलाई सुरुदेखि नै बिजनेश दिने गरी तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ २२ गतेबाट सुरु हुने संसदलाई सुरुदेखि नै ‘बिजनेश’ दिने गरी तयारी गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर अघिल्लो संसद अधिवेशनले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेको भन्दै संसदलाई बिजनेश दिन र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् । उनले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे पनि छलफल गरेका छन् ।
उनले भने, ‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला । यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला ।’
छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरेका छन् ।
बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही ‘बिलहरू’पेश गर्न सकिने गरी तयारी गरिएको बताए ।
सचिव सापकोटाले केही विधेयकहरू संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने भन्दै थप विधेयकका काम पनि गरिने जानकारी दिए ।
