`

कसैलाई पक्राउ गर्दैमा कोकोहोलो गर्नु पर्दैनः गृहमन्त्री श्रेष्ठ

Nepal One HD २० माघ २०८० १५:१७
प्रमुख खबर

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष फस्न नहुने र दोषीलाई कारबाही गर्नेमा सरकार स्पष्ट रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले कसैलाई पक्राउ गर्दैमा कोकोहोलो गर्नु नपर्ने बताएका हुन् ।

उनले बाँसबारी जग्गा प्रकरणमा उद्योगी अरुण चौधरी पक्राउको विषयमा उद्योगी व्यवसायीले विरोध गरेको आपत्ति जनाए । उनले भने, ‘ त्यसो भए गरिब, सुकुम्बासी, मजदुर,लाई कारबाही गर भन्ने हो ? अर्थतन्त्रमा योगदान गरेकालाई कहाँ कारबाही गर्न हुन्छ भनेर दबाब दिने । कसलाई कारबाही गर्ने ? सरकार स्पष्ट छ, निर्दोष फस्नु हुँदैन भन्नेमा ।’

उपप्रधानमन्त्री श्रेष्ठले कानुनअन्तर्गत रहेर ठगी, जालसाजी गर्नेलाई दृढतापूर्वक कारबाही गरिने पनि बताए । उनले भने, ‘जनताका अपेक्षा हुन्छन् । जनताको अपेक्षाका आधारमा कारबाही गर्न मिल्दैन । नक्कली भुटानी शरणार्थीमा जनतालाई फलानो पनि संलग्न छ, ल्याउनपर्छ भन्ने होला तर तथ्य र प्रमाणले पुष्टि गर्नुपर्छ । हामी राजनीतिक सौदाबाजी गर्दैनौं ।’

 उनले सुशासनको अभियानबाट विश्राम नलिने बताए । उनले कुन फाइल खोल्ने भन्दा पनि अनुसन्धानले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने बताए । उनले भने,‘सरकारले विश्राम लिँदैन । अनुसन्धान गर्दै जाँदा कुनमा गडबडी छ त्यही फाइल खुल्छ । बाँसबारीको जग्गाको अनुसन्धान गर्न पनि तीन महिना लाग्यो । एकैपटक फाइल खोलेर काम गर्न पनि समस्या हुन्छ ।’ गृहमन्त्रीले माघ २४ गते प्रधानमन्त्रीसहितको बैठक बसेर प्रहरी समायोजनको विषयमा समझदारी बनाउने बताए ।


प्रतिक्रिया