`

नेपालीलाई सेनामा भर्ना नगर्न भन्दै पुटिनलाई शान्ति समाजको पत्र

Nepal One HD २२ माघ २०८० १५:३१
प्रमुख खबर

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने काम बन्द गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमबार समाजले काठमाडौंंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएकाहरुले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीलाई विनासर्त नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् ।

प्रदर्शनपछि समाजले रुसी राष्ट्रपति भ्लादीमिर पुटिनलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी दूतावासका अधिकारीलाई हस्तान्तरण गरेको छ । ज्ञापनपत्रमा युद्धबाट सर्वनाश बाहेक केही हासिल नभएको भन्दै कहालिलाग्दो युद्धको सिलसिला तत्काल अन्त्य गर्न आग्रह गरिएको छ । रुसी सेनामा भर्ना भएका एक दर्जन युवाको युक्रेनसँगको युद्धमा मृत्यु भइसकेको छ ।

त्यस्तै सयौं नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ । रुसी सेनामा भर्ना भएकाका आफन्तले आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएको भन्दै सरकारलाई फिर्ता गराउन पहल गर्न भन्दै आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया