`

वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न तीन किलोमिटर मेसजाली

Nepal One HD २६ माघ २०८० १९:५८
समाचार

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट वन्यजन्तु मानव बस्तीमा पस्ने जोखिम न्यूनीकरण गर्न मेसजाली निर्माण गरिने भएको छ । वन्यजन्तु आगमनको उच्च जोखिम रहेको भरतपुर महानगरपालिकाका चार वडामा तीन किलोमिटरमा मेसजाली निर्माणको कार्य प्रारम्भ गरिएको हो ।

भरतपुरका वडा नं २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउने स्थानमा सुरुआती चरणमा मेसजाली निर्माणको काम हुनेछ । निर्माणकार्यको आज महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सङ्घ र महानगरको रु दुई–दुई करोड गरी रु चार करोडको परियोजनाअन्तर्गत पहिलो चरणमा रु दुई करोड ७९ लाखको काम सुरु भएको बताउनुभयो ।

छुटेका स्थानमा तत्काल सर्भे गरी नयाँ बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो । मेसजाली निर्माणले वन्यजन्तुको जोखिम अन्त्य हुने विश्वास प्रमुख दाहालले व्यक्त गर्नुभयो । भरतपुरका वडा नं ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको जनाउँदै उहाँले यी वडामध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको बताउनुभयो ।

मेसजाली निर्माणको कार्यका लागि चार वडाको दक्षिणतर्फ जङ्गलको सिमानामा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब तीन किलोमिटर मेसजाली निर्माण गरिने आचार्यको भनाइ छ ।

गोले सनसाइन जेभी सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरेको छ । पश्चिम चितवनका निकुञ्ज तटीय क्षेत्रसँग जोडिएका बस्तीमा बाघ, हात्ती, गैँडा, बँदेललगायतका वन्यजन्तुले बर्सेनि ठूलो मात्रामा जनधनको क्षति पुर्याउँदै आएका छन् ।


प्रतिक्रिया