राज्यहरू रहेसम्म जनक्रान्ति कहिल्यै अन्त्य हुँदैनः बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनयुद्धमा सक्रिय सहभागी भएर नयाँ इतिहास निर्माण गर्न पाएकोमा गर्वको अनुभूति भएको बताएका छन् ।
जनयुद्ध दिवसका अवसरमा मंगलबार सामाजिक संजालमार्फत भट्टराईले जनयुद्धमा सक्रिय सहभागी भएकोमा गर्व अनुभूति भएको बताएका हुन् । उनले भनेका छन्, ‘त्यो ऐतिहासिक जनयुद्धमा सक्रिय सहभागी बनेर नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैं गर्वको अनुभूति हुन्छ । त्यो महान् जनक्रान्तिमा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धासुमन तथा वेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान ! त्यसैले जनयुद्ध दिवसमा नयाँ प्रण गरौं– हामी चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त हुनेछैनौं । सुशासित, समुन्नत, समाजवादी नयाँ नेपाल निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनेछौं ।’
भट्टराईले नेपाललाई संसारले इतिहासमा दुई पटक चिनेको बताएका छन् । उनले भनेका छन्, ‘पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य–विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो । दोश्रो पटक, बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरू (२०५२ फागुन १ गतेबाट २०६३ मंसीर ५ गते) सम्म विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको सहभागितामा चलेको संसार हल्लाउने जनयुद्धको वेला, जसले एकात्मक राजतन्त्रात्मक नेपाली राज्यलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको थियो ।’
उनले जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य नहुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुँदैन । त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहन्छ । कतिपय हिजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिंगा डुबे झैं डुब्छन् । तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानवजातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन् ।’
