इन्डोनेसियाको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा विजयी भएको सुबियान्तोको दाबी


इन्डोनेसियाका रक्षामन्त्री प्रबोवो सुबियान्तोले बुधबार भएको राष्ट्रपतिको निर्वाचनको पहिलो चरणमा विजयी भएको दाबी गर्नुभएको छ । प्रारम्भिक नतिजाले आफूलाई दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको नेता निर्वाचित गर्ने सङ्केत गरेपछि उहाँले यस्तो दाबी गर्नुभएको हो ।
आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि उहाँको विजय विश्वसनीय देखाएको थियो ।
उहाँले मध्य जाकर्ताको एक मैदानमा भीडमा भन्नुभयो, “सबै गणना, सबै सर्वेक्षणकर्ताका आँकडाले प्रबोवो–जिब्रानले एउटै चरणमा जित हासिल गरेको देखाएका छन्, यो जित सबै इन्डोनेसियाली जनताको जित हुनुपर्छ ।” प्रारम्भिक नतिजाले उहाँलाई आफ्ना प्रतिद्वन्द्वी अनिस बास्वेदन र गान्जर प्रणवोलाई दोस्रो चरणको रनअफ भोटबाट जोगाउन बहुमतको लाइनमा राखेको छ । दोस्रो चरणको मतदान जुनमा हुने तालिका छ ।
सुबियान्तोलाई राष्ट्रपति पद सुरक्षित गर्नका लागि कूल मतको ५० प्रतिशतभन्दा धेरै र मुलुकको आधाभन्दा धेरै ३८ प्रान्तमा खसालिएको मतपत्रको कम्तीमा पनि पाँचौँ भाग प्राप्त गर्नुपर्ने आवश्यकता छ । जितको दाबी गर्दै सुबियान्तोले निर्वाचन आयोगको ‘आधिकारिक नतिजा’ को प्रतीक्षा गर्ने बताउनुभयो ।
“इन्डोनेसियाली लोकतन्त्र राम्रोसँग चलिरहेको हामीलाई विश्वास छ, जनताले दृढ सङ्कल्प गरेका छन् र निर्णय गरेका छन्”, उहाँले समर्थकहरूसँग भन्नुभयो ।